क्यान इन्फोटेक २०२०ः दुई दिनमै एक लाख भन्दा धेरैको अवलोकन

काठमाडौं, ४ फागुन । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक दुई दिनमा १ लाख भन्दा धेरै मानिसहरुले अवलोकन गरेका छन् ।

महासंघका महासचिव नारायण थापाका अनुसार मेला सुरु भएको पहिलो दिन शुक्रवार करिब ३५ हजारले अवलोकन गरेकोमा दोस्रो दिन शनिवार ७५ हजार भन्दा धेरै मानिसहरुले अवलोकन गरेका थिए ।

शनिबार क्यान इन्फोटेकमा अवलोकनकर्तालाई लक्षित गरी विभिन्न ब्राण्डले छुट र अफरको घोषणा गरेका थिए । त्यस्ता स्टलहरुमा अवलोकनकर्ताको भीड लागेको महासंघले बताएको छ ।

यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ । स्टार्टअप र नवीनतम प्रविधिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै क्यानले सार्बजनिक सूचना निकालेर तथा विभिन्न विश्वविद्यालय र कलेजमा पत्राचार गर्दै बिशेष स्टल उपलब्ध गराउने जानकारी दिएको थियो ।

प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थपन सम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनेन्शियल नोटिसेस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, इ–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, भेदा, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपको स्टल छन् ।

क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसन पभेलियनमा २० वटा स्टल राखिएका छन् जसमा विद्यार्थी र व्यवसायीले नवीनतम सोच भएका उत्पादन र सेवाबारे जानकारी दिएका छन् ।

स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन गर्न क्यान इन्फोटेकमा यस्ता स्टललाई प्राथमिकता दिइएको क्यान महासंघले बताएको छ ।
क्यान इन्फोटेकको दोस्रो दिन प्रयोगकर्ताले विशेषगरी विभिन्न ब्राण्डका स्टलमा रुची देखाए ।

केही मोबाइल ब्राण्डले मेलाको क्रममा ५० प्रतिशतसम्म छुट दिइरहेका छन् । छुट र अफर घोषणा गरिएका स्टलमा प्रयोगकर्ताको रुची बढी देखिएको छ ।

यो वर्षको क्यान इन्फोटेकमा साइबर सुरक्षा सम्बन्धी सर्भे पनि गरिएको आयोजकले जनाएको छ । क्यान महासंघले सेन्टर फर साइबर सेक्युरिटी रिचर्स एण्ड इन्नोभेसन काठमाडौंसँगको सहकार्यमा साइबर सुरक्षा सम्बन्धी सर्भे तथा अनुसन्धान गरिरहेको हो ।

इन्फोटेकमा स्टल राखेर अवलोकनकर्ताहरुमाझ साइबर सुरक्षा सम्बन्धी ज्ञानको बिषयमा अनुसन्धान गरिएको हो ।

बुधबारसम्म हुने मेला ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here