चिनी उद्योगीसँग प्रधानमन्त्री ओली आक्रोशित, भनेः चिनी उद्योगीले ठगे

काठमाडौं, २५ चैत । सोमबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधाणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चिनी उद्योगीले आफूलाई झुक्याएको बताएका छन् ।

दशैंताका चिनी उद्योगी आफूकहाँ आएर पाकिस्तानी चिनीको कारण नेपाली चिनी बिकेन त्यसैले आयात रोकिदिन भन्दै अनुरोध गरेको र त्यसैअनुसार रोक्दा उद्योगीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको उनले बताए ।

उनले भने, ‘दुई वर्ष सम्मलाई पुग्ने स्टक छ रोकिदिनुपर्यो भन्नुभयो, होला भनेर रोकिदिएँ, भोलीपल्टबाट बजारमा चिनी नै छैन ।’

‘६३ रुपैयाँमा चिनी बिकेन, हामी ५३ मा बेच्न बाध्य छौं सस्तो चिनीले हाम्रो बजार खायो भन्न थाले,’ उनले भने, ‘रोकिदिएको त भोलीपल्टबाट चिनी छैन एकैचोटी ८५ रुपैयाँ पुग्यो । दशैं तिहारको बेला छ, त्यहि पनि चिनी पाइँदैन ।’

यस्तो व्यापार ठगी भएको भन्दै उनले यस्ता क्रियाकलाप बन्द गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘व्यापारमा कतै बाधा आयो भने सिधै म कहाँ आउनुहोस् तर भ्याट बिलमा डुप्लिकेसन नगर्नुहोस् । अवैध क्रियाकलाप बन्द गर्नुहोस् ।’

साथै उनले सरकारले बाह्य लगानी ल्याउन लाग्यो भनेर नआत्तिन उद्योगीलाई आश्वासन दिए । नेपाली प्रविधि र पूँजीले नपुग्ने क्षेत्रमा मात्रै विदेशी लगानी ल्याउन लागेको भन्दै यसले स्वदेशी लगानीकर्तालाई घाटा नहुने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here