सडक मर्मतको लागि ६ अर्ब, बैशाखदेखि खाल्डाखुल्डी देख्नै मुस्किल !

काठमाडौं, ९ फागुन । काठमाडौंको सडक जताजतै खाल्डाखुल्डी छ। पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएसँगै उपत्यकाबासी हिलो र धुलोबाट मुक्त हुने भएका छन् ।

आउँदो बैशाख १ गते काठमाडौं उपत्यकाभित्रको सडकलाई खाल्डाखुल्डी मुक्त घोषणा गरिने तयारीको साथ थालिएको कार्य अन्तिम चरणमा पुगेको छ ।

अहिले काठमाडौं उपत्यकाभित्रका बाहिरी र भित्री सडक धमाधम कालोपत्रे भइरहेको सडक विभागले जनाएको छ ।

बैशाख १ गते प्रधानमन्त्रीले काठमाडौंको सडकलाई खाल्डाखुल्डी रहितका साथै धुँलो मुक्त भएको घोषणा गर्नेछन् ।

‘प्रमुख सडकहरुमा खाल्डाखुल्डी पुर्ने काम सकिसकेको छ, अब केही बाँकी साना सडकहरुमा पुर्ने काम निरन्तर भइराख्ने विभागको दाबी छ ।

विभागले दैनिक २ सय देखि ३ सय स्क्वायर मिटरको दरले सडकका खाल्डाखुल्डी पुर्दै आएको र हाल केही स्थानमा ढलका मंगलहरु फुटेका स्थान र पानी जमेर भत्केका स्थानमा मात्र टाल्ने काम बाँकी रहेको जनाएको छ ।

अहिले केन्द्र सरकारले पनि देशभर झन्डै १० हजार किलोमिटर सडक मर्मत र स्तरोन्नती गर्न झन्डै ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

काठमाडौं उपत्यकामा झन्डै ३ अर्ब रुपैयाँ बजेट खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि मात्रै छुट्याइएको छ ।

जसमध्ये काठमाडौं उपत्यकाका सडकको मर्मत, सम्भार तथा खाल्डाखुल्डी पुर्न सबैभन्दा बढी बजेट छुट्टयाएको पूर्वाधार मन्त्रालय स्रोतले जनाएको छ ।

अहिले उपत्यका भित्रका नयाँ बानेश्वर, बबरमहल, तीनकुने, कालीमाटी, मैतीदेवी, बालाजु, नागढुंगा, कलंकी, चावहिल लगायतका क्षेत्रका सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

यस्तै पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै पूर्व पश्चिम नाकामा समेत सडक मर्मतका कामहरु गरिदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here