७ महिनामा निर्जीवन बीमा कम्पनी गरे ३८ अर्ब १२ करोड लगानी, कसको कति ?

काठमाडौं, २० फागुन । चालु आर्थिक वर्षको माघ महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १२ करोड ७५ लाख ५३ हजार रुपैयाँ लगानी गरेका छन् ।

लगानी गर्नेमा २० वटा निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा बाहेक १९ वटा रहेका छन् । सबैभन्दा बढी लगानी गर्नेमा शिखर इन्स्योरेन्स छ ।

शिखरले ३ अर्ब ७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै धेरै लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ । नेकोले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८२ करोड ३६ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ भने निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा जनरल इन्स्योरेन्स कम्पनी छ । जनरलले ८३ करोड ९७ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ ।

निर्जीवन बीमा तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेको तथ्याकंले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here