सीई र एसले लुम्बिनी र नगरकोटमा होटल हब निर्माण गर्ने

काठमाडौं, २३ फागुन । सिई कन्सट्रक्सन र एस होटल्सले लुम्बिनी र नगरकोटमा होटल हब संचालन गर्ने योजना सार्वजनिक गरेका छन् ।

हबमा होटल मात्र नभइ अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, मुभि स्टेशनहरु पनि रहने सीईका अध्यक्ष विजय राजभण्डारीले होटल एम्बेसडरको ४२ औं वार्षिकोत्सव कार्यक्रममा जानकारी दिए ।

एस होटल्सले होटल एम्बेसडर र क्लब हिमालय होटल सञ्चालन गरिरहेको छ ।

राजभण्डारी र एसका अध्यक्ष योगेन्द्रबहादुर शाक्यले होटल हब एउटा महत्वाकांक्षी योाजना भएको बताए ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू छोटो समय प्रधानमन्त्री भएका बेला अरु धेरै गर्न नसक्ने भएकाले राजधानी शहरलाई सुन्दर बनाउने र सडक चौडा गर्ने अभियान थालेको बताए ।

त्यसबेला देवेन्द्रराज पाण्डे र पद्मरत्न तुलाधरजस्ता चर्चित व्यक्तिहरु सडक विस्तार रोक्न अनुरोध गर्न आउनु भएको थियो, तर मैले केही नबोल्ने तर काम गरिरहने शैली अपनाएको थिएँ, उनले भने ।

सरकार र तत्कालीन माओबादीवीच वार्ताको तयारीका कतिपय बैठक होटल एमबेसडरमा बसेको पनि उनले स्मरण गरेका थिए ।

सेवा उद्योगको प्रतिष्ठित नाम एसिई होटल्सद्धारा संचालित एम्बेसडर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ ।

होटलले संचालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जापानी खान मन पराउने माझ लोकप्रिय छ । होटलले आफ्ना पाहुनालाई काठमाडौंको बसाईमा स्वास्थ्य अझ सबल बनोस भनेर योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत संचालन गर्ने गरेको शाक्यले बताए ।

होटल एम्बेसडरमा मात्रै हामीले करिब एक सय करोड लगानी गरीसकेका छौं, लगानी विस्तार गर्दै हामीले छिट्टै नै नयाँ हलहरु थप्ने योजना पनि बनाएका छौं, शाक्यले भने ।
उनका पिता वसन्तबहादुर शाक्यले ४२ वर्षअघि एम्बेसडर होटलको स्थापना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here