काठमाडौं । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिर्नु पर्ने भएको छ । फ्रेन्च कम्पिटिसन अथोरिटीले एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै जरीवाना तिराउने निर्णय सुनाएको हो ।
साथै एप्पलका दुई होलसेललाई पनि मिलोमतोमा मूल्य तोकेको आरोपमा जरीवाना तोकिएको छ । एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ । र, समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो ।
फ्रेन्च कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए ।
एक दशकभन्दा अघिको विषयलाई लिएर जरिवाना लगाएको र त्यतिबेलाको अवस्था त्यसरी नै चलेको भन्दै उनले जरिवानाको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।