काठमाडौं । कोरोना भाइरसको संक्रमणले धेरै क्षेत्रलाई प्रभावित पारेको छ । संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सिनेमा क्षेत्रमा पनि ठूलो असर परेको छ ।
नेपाली सिनेमामा पनि यसको असर देखिएको छ । सरकारको २५ जनाभन्दा धेरै मानिस भिडभाड गर्न नपाउने नियमसंगै सम्पुर्ण सिनेमा हलहरु बन्द भएका छन् ।
नेपालका साथै हलिउड र बलिउड सिनेमा क्षेत्रपनि कोरोनाको संक्रमणमा परेको छ । जसको कारण धेरै सिनेमाहरुले त नयाँ प्रर्दशन मिती पनि तोकेका छन् भने केही परिस्थीति अनुसार मिती तोक्ने विचारमा छन् ।
रिलिज मिती सरेका हलिउड सिनेमाहरु
कोरोनाको कारण यस वर्ष प्रर्दशन बहुप्रतिक्षित हलिउड सिनेमाहरुले आफ्नो रिलिज मिती सारेका छन् ।
रिलिज स्थगीत गर्ने हलिउड सिनेमामा जेम्स बोन्डको २५ औं फ्रान्चाइज ‘नो टाइम टु डाइ’, ‘फास्ट एण्ड दि फ्यूरियसुको नवौं फ्रान्चाइस, निकी कैरोको ‘मुलान’, ‘द न्यू म्युटेन्टस’ तथा ‘एन्टलर्स’ आदी सिनेमा रहेका छन्।
‘नो टाइम टु डाइ’ले अप्रिल दुईको रिलिज मिति स्थगित गरेको हो भने ‘फास्ट एण्ड फ्यूरियस’ले २२ मेको रिलिज मिति स्थगित गरेको हो।
बलिउड सिनेमा
कोरोना संक्रमणको कारण भारतमा मार्चको अन्त्यमा हुने तय भएको ‘आइफा’ अवार्ड तत्कालका लागि स्थगित भएको छ।
यसका साथै यसै महिना रिलिज हुने अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’को रिलिज स्थगित भएको छ भने अक्टुबर २ मा रिलिज हुने घोषणा भएको विक्की कौशलको फिल्म ‘सरदार उधुम सिंह’ आगामी वर्षको १५ जनवरीमा रिलिज हुनेगरी सरेको छ।