काठमाडौं, २७ चैत । लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।
उपत्यकाबाट बाहिरिन चाहनेलाई सुरक्षा निकायको स्कर्टिङमा पठाइनेछ ।
लकडाउन कहिलेसम्म रहने भन्ने निश्चित भएको तथा आपूर्ति व्यवस्था पनि थप जटिल बन्न सक्ने अनुमान गरेर सरकारले इच्छुक व्यक्तिहरुलाई उपत्यकाबाट बाहिरिने अवसर दिन लागेको बताइएको छ ।
चैत ११ मा लगाएको लकडाउन सरकारले तीन पटक बढाइसकेको छ भने अझै केही पटक लम्बिन सक्ने संभावना देखिएको छ । यसैवीच सयौं व्यक्तिहरु धेरै दिनसम्म पैदल हिंडेर गाउँ गइरहेका छन् ।