क्वारेन्टाइन नाट्य उत्सवको आज अन्तिम, ५ बजे ‘ताराबाजी लै लै’

काठमाडौं, २९ चैत । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ आज शनिबार समापन हुँदैछ ।

सरकारले लकडाउन घोषणा गरेपछि चैत १४ गतेदेखि शुरु भएको सो फेस्टिभल १६औं दिनमा समापन हुन लागेको हो ।

नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए ।

‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रङ्गमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रङ्गमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने ।

फेस्टिभलको अन्तिम नाटक सनिबार साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन हुँदैछ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउँछ ।

गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् ।

को को छन् ‘ताराबाजी लै लै’ मा ?

नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा र प्रविण खतिवडाको अभिनय रहेको छ ।

साथै, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले पनि नाटकमा अभिनय गरेका छन् । जो सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका छन् ।

शनिबार दिउसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन भएको छ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय छ ।

काभिड–१९को संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको थियो ।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here