थप एकजना कोरोना संक्रमित भेटिए

काठमाडौं, १ बैशाख । नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो। मन्त्रालयबाट औपचारिक जानकारी आउन बाँकी छ।

वीरगञ्जमा चिया बेच्ने ती महिला चैत ९ गते कैलाली लम्की पुगेका थिए।

स्थानीय जनप्रतिनिधिले उनीहरु सबैलाई लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखेका थिए।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि चैत २८ गते घर गएका थिए। संक्रमित महिला भुरुवास्थित आफन्तकोमा बसेकी थिइन्।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ।

आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो।

नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्‍जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here