४१ देशका ३० हजार नेपालीले पाए एनआरएनएको राहत

काठमाडौं, १५ बैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का महासचिव डा हेमराज शर्माका अनुसार ४१ देशमा १५० भन्दा बढी शहरमा ९०० भन्दा बढी स्वयम् सेवक राहत वितरणका लागि खटिएका छन् । सङ्घका राष्ट्रिय समिति र अन्तरराष्ट्रिय परिषद्ले स्थापना गरेको २४घण्टे हटलाइनबाट सात हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा शर्माले जानकारी दिए ।

कूल ७० जना चिकित्सकले एक हजार २०० नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् । राष्ट्रिय समन्वय परिषद्ले झण्डै तीन करोड रुपैयाँ बराबरको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्ने क्रममा छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले रु दुई करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएको एनआरएनएले जनाएकाे छ ।

एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले पाँच करोड रूपैयाँको राहत कोष लक्ष्यसहित बढाउने अभियान जारी राखेको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाइ सरकारलाई उच्चस्तरीय समितिले ज्ञापन बुझाएको छ । पुनःस्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनःस्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सीपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारेको योजना तयारीको क्रममा रहेको छ ।

एनआएनएका अनुसार शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ४९ पुगेको छ । जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको छ । झण्डै दुई हजार जना कोरोना सक्रमित भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here