बैशाख २५ पछि शेयर बजार खोल्ने तयारी

काठमाडौं, १६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैशाख २५ पछि शेयर बजार खोल्ने तयारी गरेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको बताए ।

हाल आईटी पोलिसी नेप्सेको सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेको उनले जानकारी दिए ।

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरुनै यसप्रति आकर्षित नभएकोमा दुख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।

नेपाल धितोपत्र बोर्डले पनि २५ पछि बजार सञ्चालन गर्नका लागि मोडालिटी तयार गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

सरकारले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुदाँ बजार खोल्न नसकिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताएका छन् ।

यो पनि पढ्नुस्ः नेप्सेको अनलाईन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन काम शुरु

कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने तर्क नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलको छ ।

हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन उनले सुझाव दिए ।

वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ ।

यसले नेपालको र अन्तराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे । धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ ।

अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्य पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।

बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् ।
वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिंदै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको वताए ।

‘हाललाई लगानीकर्ताहरुको खाता नविकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौ । लकडाउन र संक्रमण अन्त्यहुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प छैन,’ उनले भने ।

नेपालको पूँजीबजारले कर्पोरेट सेक्टरका कम्पनीहरुलाई पूँजी दिन्छ भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर्क शेयर विज्ञ डा. गोपाल भट्टले राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here