काठमाडौं, २२ बैशाख । नेपालमा कोेरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले थप कडाइ गरेको छ ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो।
नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यआवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ।
आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए। तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ।
सिडिओ कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका छन्।
अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ।
लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।
तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि प्रहरीले सत्रकता अपनाएको हो ।
केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।
यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।