५० प्रतिशत अनुदानमा ५ सय मेट्रिकटन धानको विउ वितरण गरिदै

कैलाली, २६ बैशाख । कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५ सय मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ ।

धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको व्यवस्था मिलाएको हो ।

दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहलाई धानको बीउ खरिद र वितरणका लागि कार्यादेश दिइ धानको बीउ वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

“सहकारी समूहलाई बिलका आधारमा धान बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने छ”, उनले भने, “सहकारी समूहले बीउ खरिद र वितरणको काम गरिरहेका छन् ।”

बन्दाबन्दीका बेला किसानको घरदैलोमै सेवा पुर्याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको उनको भनाइ छ ।

किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।

प्रतिपालिका (स्थानीय तह) लाई २ सय ५० क्विन्टलका दरले समान आधारमा धानको बीउ वितरण गर्नका लागि बजेट परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि रु एक करोड बजेट प्राप्त भएको छ ।

वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने कार्यालय प्रमुख भट्टले बताए। जसबाट १० हजार बढी किसान लाभान्वित हुने भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here