लकडाउनपछि १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ४ जेठ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले लकडाउन सुरु भएपछि नेपालमा खाद्यान्नको आयात पनि क्रमशः बढेको छ।

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार पहिलो हप्ताको तुलनामा सातौ हप्तामा खाद्यान्नको आयात ९३ दशमलव ४ प्रतिशतले बढेको हो ।

दलहन तथा गेडागुडीको आयात २६ दशमलव २ प्रतिशतले बढेको तथा तरकारी र फलफूलको आयात क्रमशः २५ प्रतिशत र ३६१ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत चैत ११ गतेदेखि जेठ २ गतेसम्ममा १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न, र ४४ हजार ७ सय मेट्रिक टन दलहन आयात भएको छ।

यही अवधिमा ६५ हजार ६६२ मेट्रिक टन तरकारी, २४ हजार ७३२ मेट्रिक टन फलफूल र ११ हजार १५१ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले लक डाउन गर्ने निर्णय गरेको थियो ।

संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् । सरकारले लकडाउनका अवधिमा पनि यी अत्यावश्यक वस्तुहरूको आयात सुचारु राख्ने निर्णय गरेको थियो ।

मुलुकमा उत्पादित खाद्यान्नले आन्तरिक माग धान्न नसक्ने कारण नेपालले हरेक वर्ष अर्बौंको खाद्यान्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here