‘जुनुको जुत्ता’लाई ओबेरहाउसेनमा स्पेशल मेन्सन

काठमाडौं, ६ जेठ । केदार श्रेष्ठ निर्देशित लघुचलचित्र ‘जुनुको जुत्ता’ले जर्मनीमा आयोजित शर्ट फिल्म फेस्टिभल ओबेर हाउसेनमा स्पेशन मेन्सन पाएको छ ।

नेपालको तर्फबाट सो अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा सामेल भएको सो चलचित्र एक बालिकाले उल्टो जुत्ता लगाउँदा भोग्नु परेको लज्जा र सही जुत्ता लगाउन पत्ता लगाएको उपायमा आधारित छ ।

६६ औं संस्करणको सो महोत्सवमा ‘जुनुको जुत्ता’ले चिल्ड्रन तथा युथ प्रतिस्पर्धा वर्गमा स्पेशन मेन्सन पाएको हो । महोत्सवको निर्णायक समितिले चलचित्र यथार्थमा आधारित रहेको र संगीत समेत उत्कृष्ट रहेको बताएको छ । यसको कथा पनि अर्थपूर्ण रहेको उल्लेख गरिएको छ ।

यो पुरस्कार सम्पूर्ण नेपाली चलचित्रकर्मीहरुले पाएको अनुभव भएको निर्देशक श्रेष्ठले बताएका छन् । यो महामारीका बेलामा आएको यो एउटा शुभ समाचार हो, उनले भने ।

हालै मात्र यस फिल्मले अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड पाएको थियो ।

बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा फिल्मको पब्लिक प्रदर्शन भएको थियो ।

विश्वभरीका ६५ सयभन्दा बढी फिल्महरुबाट एक सय फिल्म छनौट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् । विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेल सम्पादन रहेको छ ।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here