४ अर्ब रुपैयाँको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ।

बचतपत्रमा आवश्यक आवेदन नपरेपछि यसअघि जेठ २५ गतेसम्म आवेदन दिन पाइने गरी बिक्रीमा ल्याएकोमा असार २१ गतेसम्म म्याद थप गरेको हो।

केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६-६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

असर २९ गते निष्काशन गरिने बचतपत्रमा इच्छुक नेपाली नागरिकले नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिद आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।

बैंकले २०८२ असार २९ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा २ प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here