क्वारेन्टिनमा भएका सबैको पीसीआर परीक्षण नगर्ने, कस्ता व्यक्ति प्राथमिकतामा ?

काठमाडौं, २३ जेठ । सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने भएको छ।

पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरमा रहेका कोरोना भाइरस लक्षण नदेखिएको व्यक्तिको पीसीआर विधिबाट नगर्ने जनाएको हो ।

सरकारले कोरोना टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको छ ।

जसमा श्वासप्रश्वास र कोरोना भाइरसका कुनै पनि लक्षण नदेखिएमा त्यतिकै घर पठाउन सकिनेछ तर यस्ता व्यक्तिलाई हालका लागि आरडीटी परीक्षण गर्नुपर्नेछ । क्वारेन्टिन रहेका व्यक्तिमा कोभिडका लक्षण देखिएकालाई आरटी–पीसीआर गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

नयाँ निर्देशिकामा सरकारले परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ।

पहिलो आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ।

दोस्रो फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको छ।

यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षणको तेस्रो प्राथमिकतामा राखिएको छ।

यसबाहेक कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफैं परीक्षण गराउन पुग्नेहरूको परीक्षण नगरिने निर्देशिकाले प्रष्ट पारेको छ । नेपालमा कोरोना भाइरस पुष्टि भएका धेरैलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ ।

रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस संक्रमण पछि देखिने लक्षणहरु हुन् ।

तर नेपालमा संक्रमितमध्ये झण्डै ९५ प्रतिशतमा त्यस्ता लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमितमध्ये पाँच प्रतिशतमा लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here