कर्णालीमा प्रदेशमा ५ महिने शिशुसहित ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ जेठ । नेपालमा एकैदिन ३२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थपिएका संक्रमितहरु कर्णाली प्रदेशमा ५ महिने शिशुसहित ९८ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको प्रयोगशालामा गरिएका स्वाब परीक्षणमध्ये ९८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमितमध्ये सल्यानका ३७, दैलेखका ४६, सुर्खेतका ९, जाजरकोटका ४ र डोल्पाका एक जना रहेका छन्। डोल्पामा भेटिएका ती ५८ वर्षीय पुरूषको भने निधन भइसकेको छ। त्यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासीका ३ जनामा कोरोना संक्रमण देखिएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा पनि कोरोना संक्रमण देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

यस्तै धरानस्थित बिपिकेआइएचएसको प्रयोगशालामा सुनसरीका १ र सप्तरीका ७ जनामा पनि कोरोना पोजेटिभ आएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। उनीहरुमध्ये भक्तपुरका १, धनुषा ८, कपिलवस्तु ३९, काठमाडौं ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ५२ पुगेको छ। नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको भने मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here