अझै पुननिर्माण भएनन् भूकम्पले भत्काएका ३०८ सम्पदा

फाइल तस्वीर

काठमाडौं, १२ वैशाख । विनाशकारी गोरखा भूकम्पको ४ वर्ष बितिसक्दा भूकम्पले क्षति पुर्याएका ३०८ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कार्य अझै सुरुवात हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७५३ वटा सम्पदाहरुको पुनर्निर्माण गर्नुपर्ने अवस्था थियो ।

ती मध्ये २०७५ चैत मसान्तसम्ममा ३० प्रतिशत अर्थात २२४ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुननिर्माण पुरा भएको छ ।

प्राधिकरणका अनुसार २९ प्रतिशत अर्थात २२१ वटा सम्पदाहरुको भने पुननिर्माण कार्य भईरहेको छ । बाँकी ४१ प्रतिशत अर्थात ३०८ वटा सम्पदाकाे भने पुननिर्माण सुरू हुन सकेकाे छैन ।

भूकम्पले भत्काएको काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, धरहराका र काष्ठमण्डप, गोरखाको गोरखा दरबार लगायतका सम्पदाको निर्माण भइरहेको छ ।

विभिन्न विवादहरु झेलेको रानीपोखरीको पनि निर्माण सुरु भएको प्राधिकरणले बताएको छ । रानीपोखरीको निर्माण शिखर शैलीमा निर्माण गर्ने टुंगो लागेको छ ।

यस्तै भूकम्पले भत्काएका गुम्बाहरुको समेत पुननिर्माण सुरु हुन सकेको छैन ।

प्राधिकरणका अनुसार १,३२० वटा गुम्बामा क्षति पुगेका छन् जसमध्ये ८९५ वटाको पुननिर्माण गर्नुपर्ने छ भने ४०२ वटाको मर्मत सम्भार गर्नुपर्ने छ ।

त्यसको लागि ५ अर्ब ८५ करोड रूपैयाँ खर्च लाग्ने पनि प्राधिकरणको अनुमान छ । एकसय वर्ष भन्दा पुराना र दुई हजार वर्गफिट भन्दा बढी क्षेत्रफलका गुम्बा प्राधिकरण आफैले बनाउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here