कोरोनाभाइरसमा प्रभावकारी औषधी भेटियो

काठमाडौं, २ असार । विगत ६ महिनादेखि अनेक अडकलबाजी तथा हल्ला पछि वेलायतका वैज्ञानिकहरुले कोरोनाभाइरसमा प्रभावकारी औषधी फेला पारेका छन् ।

विश्व स्वास्थ्य संगठनदेखि विकसित मुलुकका अनेकौं कम्पनी तथा प्रयोगशालाहरु खोपको विकासमा लागिरहेका बेला वेलायतका विज्ञहरुले डेक्सामेथासोन नामक औषधी कोभिड १९ को उपचारमा उपयोगी हुने बताएका हुन् ।

यसले गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन उल्लेख्य सफलता मिलेको बीबीसीले बताएको छ ।

हालसम्म गरिएका अनुमानहरुको तुलनामा अकल्पनीय सस्तो रहेको सो औषधीले भेन्टिलेटर र अक्सिजनको सहायतामा राखिएका बिरामीको ज्यान बाँच्न सक्ने संभावना बढ्ने बताइएको छ ।

वेलायतले सुरुदेखि नै यस औषधिको प्रयोग गरेको भए कम्तिमा ५ हजार मानिसको ज्यान जोगाउन सकिने विज्ञहरुले अनुमान गरेका छन् ।

भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान जोगाउन सकिने बीबीसीले बताएको छ ।

कोरोनाभाइरसको उपचारको अनुसन्धानमा डेक्सामेथासोन उपयोगी हुन्छ भन्ने थाहा पाउनु उपलब्धी भएको विज्ञहरुले बताएका छन् । कम मूल्यमै उपलब्ध हुने भएकाले विकासशील मुलुकहरुका लागि यो खासरुपमा प्रभावकारी हुने छ ।

१९६० देखि नै प्रयोगमा आएको यो पुरानो औषधि हो जुन दम र रुमटोइड आर्थराइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । यो इन्जेक्सन र चक्की दुवै रुपमा प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here