काठमाडौं, ७ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु भएका तीनै जना कतारका हुन् ।
गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । योसँगै ९ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जनाएको छ । नेपालमा अहिलेसम्म तीन जनाको ज्यान गएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १ सय ५२ पुगेको छ ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।
तीनहजार बढी नेपाल फर्किए
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन देखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीनहप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।
४० जना नेपालीको शव नेपाल लगियो
यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ ।
यसबाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको छ ।