खुलामञ्चमा डोजर चल्यो, जलेश्वरका ४० सटर ध्वस्त

काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुलामञ्चमा रहेको बसपार्कमा बनाइएका ४० सटरमा महानगरपालिकाले शनिबार दिउँसो डोजर चलाएको हो ।

डोजरले टहरा भत्काउँदै गर्दा सटरका पसलेहरुमा भागाभाग र रुवाबासी चलेको थियो भने अन्य व्यक्तिलाई बसपार्क भित्र प्रवेश गर्न दिइएको थिएन ।

पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने जिम्मा पाएको जलेश्वर स्वच्छन्द निर्माण कम्पनीले अस्थायी बसपार्कमा स्थायी प्रकृतिका सटर निर्माण गरेपछि जनस्तरबाट त्यसको ब्यापक बिरोध भएको थियो ।

शुत्रबार नागरिकस्तरबाट दबाव दिनका लागि बिरोधका कार्यक्रम तथा प्रदर्शनी समेत आयोजना गरिएको थियो ।

जलेश्वर स्वच्छन्दले एक वर्षभित्रै पुरानो बसपार्कमा सवारी पार्किङ र आवागमन गर्न मिल्ने संरचना बनाएर बसपार्क सार्ने सम्झौता भए पनि चार वर्ष वित्दा पनि उसले निर्माणमा सिन्को भाँचेको छैन । उसले देखाउनका लागि केही हेभी इक्विपमेण्टहरु पुरानो बसपार्कमा लगेर राखेको छ । ति मेशिनहरुमा खिया लागेको प्रष्टै देखिन्छ ।

भत्काइएका सटरमा पसल राखेका पसलेहरु भने छरिएका आफ्ना सामान बटुल्नतर्फ लागेका छन् । सटर भत्काउने बेलामा त्यहाँ उपस्थित नभएका पसलेहरुका सामान यत्रतत्र छरिएका छन् । महानगरपालिकाले सामान निकाल्ने पर्याप्त समय नदिएको उनीहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here