लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता, सीमा नाका र अन्तर्राष्ट्रिय पनि उडान बन्द

काठमाडौं, १५ असार । मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो ।

त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ।

सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ। सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो।

जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here