कोरोना कहरकै बीच खुुलेको धितोपत्र बजारमा किन बढ्यो लगानीकर्ताको मनोबल ?

काठमाडौं, १६ असार । लामो समयपछि खुलेको धितोपत्र बजारमा लगानी कर्ताहरुको तछाडमछाडको कारण तेस्रो सर्किट लागेर समय अगावै बजार बन्द भएको छ ।

लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेको सेयर बजारमा दोस्रो दिन तेस्रो सर्किट लागेको हो ।

जम्मा दुई घण्टा कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर किनबेच भएको थियो । जसमध्ये १२१ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

६ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् ।

नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका हुन् ।

नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गरिन्छ।

लामो रस्साकस्सी र कोरोनाकहरकै बीच खुुलेको बजारमा लगानी कर्ताको मनोबल उच्च देखियो ।

कोरोनाको महामारी र लकडाउनका कारण बैंकहरुको कर्जा प्रवाहमा संकुुचन आउनुु र ब्याजदर क्रमशः घट्दै जाँदा लगानीकर्ताको मनोबल बढेको देखिन्छ।

ब्याजदर घट्दै जाँदा उक्त पैसा सेयर बजारमा नै आउने चलन र हाल अन्य क्षेत्रमा लगानी सुुरक्षित नभएकाले समेत दीर्घकालीन लगानीका लागि लगानीकर्ताको अत्याधिक माग भएकै कारण बजारले उकालो गति समातिरहेको छ।

यसैगरी आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्चहरु बढ्नु र कम्पनीहरुका वार्षिक प्रतिवेदन सार्वजनिक भई यही आर्थिक वर्षको मुुनाफा सुुुरक्षित गर्नसमेत सेयर खरिदको अत्याधिक माग रहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here