काठमाडौं, १४ बैशाख । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आफ्नो नाम पविर्तन गरेर साझा विवेकशील बनाएको छ ।
पार्टीको रणनीतिक कार्यक्रम तय गर्न वैशाख ११, १२ र १३ गते बसेको केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको नाम परिवर्तन गरेको हो ।
केही समय अघि पार्टी टुक्रिएपछि दुवैले एउटै नाम प्रयोग गरेकाले आमजनतामा भ्रम परेको भन्दै दलको नाम परिवर्तन गरिएको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए ।
‘हालैको समयमा पार्र्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ,’ उनले भने ।
साझाले पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ ।
साथै, विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टीआवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको छ ।
पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बन्नु पर्छ भन्ने धारणा अपनाउने पनि डा. आचार्यले बताए ।
त्यसले दलीय संबद्धताको आडमा स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनिकरण गर्नमात्र मद्दत गर्दैन, समाजको हरेक पक्षमा व्याप्त अनावश्यक र घातक दलीय भागभन्डा र अवाञ्छित राजनीतिकरणले ल्याएका विकृतिलाई पनि रोक्न मद्दत पुग्नेछ, उनले भने ।
त्यसैगरी, पार्टीका लागि आवश्यक आर्थिक आधार निर्माण गर्न ‘दिनक एक कप चिया कम पिउँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौँ’ अभियान चलाउने निर्णय साझाले गरेको छ ।





















