काठमाडौं, १८ असार । विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।
उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहनेगरी विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काको नेतृत्व गर्दै करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने विश्व बैंकले जनाएको छ ।
यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए । संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ (वि.सं. २०५२) देखि विश्व बैंकसँग आबद्ध छन् भने यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।
कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीनवटै देशले शीघ्र कदम चाल्नेजस्ता कार्यका लागि उनको नियुक्ति भएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।