एनआईसी एशिया बैंकको ऋणीलाई व्याज छुटको आकर्षक योजना

काठमाडौं, २४ असार । एनआईसी एसिया बैंकले असार मसान्तसम्म साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्नेलाई साउन १ गतेदेखि ९ दशमलब ९९ प्रतिशत ब्याजदर कायम गर्ने भएको छ ।

एनआइसी एशियाबाट कर्जा सुविधा लिएका ग्राहकले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरे साउन १ गतेदेखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना बैंकले सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले गत वैशाख १६ मा चैत मसान्तसम्म ऋणीलाई ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएपछि बैंकले त्यसलाई कार्यान्वयन गर्दै नयाँ योजना ल्याएको हो ।

कोरोनाका कारण ऋणीमा परेको असर न्यूनिकरण गर्नका लागि राष्ट्र बैंकले निर्देशन कार्यावयन गर्दै एकल अंकमा ब्याजदर कायम गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

यसका लागि बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । एनआइसी एशियाबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्ने ग्राहकले २०७७ असार मसान्तसम्मको साँवा तथा ब्याजको किस्ता असार मसान्तभित्रै बुझाएमा साउन १ पछि ब्याजदर ९.९९ प्रतिशत हुने यो स्किमको मुख्य विशेषता हो ।

अब ग्राहकले कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले कर्जा सहायता केन्द्रमा फोन गर्न सक्नेछन् ।

ग्राहकले ‘कर्जा सहायता केन्द्र’को मिस्ड कल बैंकिंग नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा HELP टाइप गरी ३४४८८ मा एसएमएसमार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको फेसबुक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

‘कर्जा सहायता केन्द्र’मा ग्राहकले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here