अधिकांश स्थानमा लगातार वर्षा, ७ नदीका तटीय क्षेत्रमा उच्च जोखिम

फाइलफोटो

काठमाडौं, ४ साउन । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जनाएको छ । ‘यो क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर रोकिएपनि पनि पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

मुलुकभर भारी वर्षासँगै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले त्यस क्षेत्र तथा आसपास बस्नेतहरूलाई सतर्क रहन सरकारले अपिल गरेको छ ।

बिहीबारसम्म मनसुनमा बदली भई भारी वर्षा हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान गरिएकाले सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको हो ।


आगामी तीन दिनको मौसम

साउन ४ गते आइतबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ५ गते सोमबार

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ६ गते मंगलबार

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here