जापानी सम्राट अकिहितोले गरे गद्दीत्याग, को बन्नेछन् नयाँ सम्राट ?

सम्राट अकिहिताे र युवराज नारूहिताे

काठमाडौं, १७ बैशाख । जापानी सम्राट आकिहितोले टोकियोको इम्पेरियल दरबारमा मंगलबार आयोजित ऐतिहासिक समारोहमा राजगद्दी त्यागेको घोषणा गरेका छन् ।

राजगद्दी त्यागको घोषणा समारोहमा ३०० भन्दा बढीको उपस्थिती रहेको थियो । समारोहमा प्रधानमन्त्री सिन्जो आबे, युवराज नारुहितो र युवराज्ञी मासाको लगायतको उपस्थिती रहेको थियो ।

उनी पछिल्लो दुई सय वर्षयता जापानको राजगद्दी त्याग्ने पहिलो सम्राट हुन् । सेरेमोनियल राजतन्त्र भएपनि जापानीहरुले राजसंस्थालाई ठूलो आस्था र सम्मान व्यक्त गर्छन् ।

किन त्यागे राजगद्दी ?

८५ वर्षीय स्रमाट आकिहितोले स्वास्थ्यलाई कारण देखाउँदै राजपाठ त्यागेको घोषणा गरेका हुन् ।

खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको मनसाय सम्राट आकिहितोले केही वर्ष अघि नै व्यक्त गरेका थिए ।

उनको सन् २००३ मा प्रोस्टेट क्यान्सरको सर्जरी गरिएको थियो र सन् २०१२ मा मुटुको बाइपास सर्जरी गरिएको थियो ।

को बन्नेछन् नयाँ सम्राट ?

आकिहितोले राजगद्दी त्यागेपछि बुधवबार नै उनका जेठा छोरा युवराज नारुहितोले जापानी राजगद्दी सम्हाल्ने भएका छन् ।

युवराज नारूहिताे र युवराज्ञी मासाकाे

जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ । मे १ बाट युवराज नारुहितोले जापानी राजगद्दी सम्हाले पछि जापानी क्यालेण्डरमा ‘रेइवा’ नामको नयाँ शाही युग सुरु हुने बताइएको छ ।

यसअघि सन् १९८९ मा अकिहितोले गद्दी सम्हालेपछि तीन दशकसम्मे ‘हेसेइ’ युग चलेको थियो ।

जापानका १२६ औँ सम्राट बन्न लागेका नारुहितो ५६ वर्षका भए । उनले बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरेका छन् । युवराज्ञी मासाकोसँग उनको विवाह भएको थियो ।

युवराज नारुहितो र युवराज्ञी मासाकोका एक्ली सन्तानको रूपमा राजकुमारी आइकोको जन्म सन् २००१ मा भएको थियो तर, जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन ।

राजकुमार फुमिहिताे, राजकुमार हिसाहिताे र राजकुमारी किकाे

नारुहितो सम्राट भएपछि उनका भाइ फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन् । त्यसपछि फुमिहितोका छोरा १२ वर्षिय राजकुमार हिसाहितो राजगद्दीको उत्तराधिकारी हुनेछन् ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here