चक्रवात ‘फानी’काे प्रभाव: हवाइ उडान प्रभावित, पर्यटकलाई सचेत रहन आग्रह

काठमाडौं, २० बैशाख । बंगालको खाडीमा बनेर भारतको ओडिसा राज्यको तटिय क्षेत्रहुँदै हुँदै भित्रिएको शक्तिशाली चक्रवात ‘फानी’को असर नेपालमा पनि देखिएको छ ।

शुक्रबार बिहानैदेखि नेपालको अधिकांश स्थानमा मौसममा बदली भइ वर्षा भएको छ । काठमाडौंमा पनि बिहान साँढे ११ बजेदेखि हल्का वर्षा हुन थालेको छ । अन्य शहरहरुमा पनि मेघ गर्जन सहित पानी परेको खबरहरु आएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन सम्म मौसममा बदली भइ अधिकांश क्षेत्रमा  हावाहुरी सहित वर्षा हुने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो चक्रवात नेपालमा आउने सम्भावना अहिलेसम्म नदेखिएपनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार, शनिबार र आइतबार मौसम प्रभावित भइ हावाहुरी सहित मेघगर्जन/चट्याङ पर्ने र मध्यमदेखि भारी वर्षा हुने महाशाखाले बताएको छ । त्यस्तै पश्चिमी क्षेत्रमा पनि मोसम प्रभावित भई हल्का तथा मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको सूचनामा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकोले पैदलयात्रामा नजान सुझाइएको छ । आइतबार देखि भने मौसममा क्रमिक सुधार आउने महाशाखाले बताएको छ ।

मौसममा बदली भएपछि आज आन्तरिक तर्फका सबै उडान अवरुद्ध भएका छन् । त्यस्तै नेपाल भ्रमणमा रहेका पर्यटकहरुलाई सचेत रहन र तीन दिन हिमाली क्षेत्रको पदयात्रामा नजान आग्रह गरिएको छ ।

महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेपछि हिमाली क्षेत्रमा पैदलयात्रामा रहेका पर्यटकहरुको सुरक्षाको ख्याल गर्न पर्यटन विभागले ट्रेकिङ एजेन्सीहरुलाई निर्देशन दिएको छ ।

पर्यटन विभाग अन्र्तगतको होटल तथा पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले जारी गरेको विज्ञप्तीमा पर्यटकलाई सुरक्षित राख्न र कुनै क्षति हुन नदिने गरी व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

हेर्नुहाेस् विज्ञप्ती :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here