ऊर्जा र लगानीमा सहकार्य गर्न बंगलादेश इच्छुक, सौविध्यपूर्ण व्यापारमा रुची

काठमाडौं, २३ साउन । नेपालसँग ऊर्जा, लगानी र ब्यापारमा सहकार्य गर्न इच्छुक रहेको बंगलादेशले पुनः बताएको छ ।

नेपालका लागि बंगलादेशी राजदूत माशफी बिन्ते शाम्सले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताएकी हुन् ।
उनले शुक्रबार अर्थमन्त्रीसँग विदाइ भेट गरेकी हुन् ।

भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धतापनि व्यक्त गरिन् ।

वातावरणीय संवेदनशिलतासम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरिन् ।

अर्थमन्त्री डा. खतिवडाले नेपाल र बंगलादेश बीच ५ दशक लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भैरहेको धारणा व्यक्त गरे ।

दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने उनको विचार थियो ।

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको बताउँदै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्न जोड दिए ।

दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको पनि अर्थमन्त्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here