कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाले ५ दिनपछि मात्रै परीक्षण गर्न आग्रह

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको ५ दिनपछि मात्रै परीक्षण गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपनि पछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

स्वास्थ्य मन्त्रालयले स्वाव दिइसकेपछि अरुको सम्पर्कमा नआउन यसअघि नै आग्रह गरिसकेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले देशभरका मेडिकल कलेजलाई कुल सिटको एकतिहाई संख्या कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । देशभर संक्रमित बढ्दै गएकापछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

गौतमले एक तिहाई संख्या अब तत्काल मेडिकल कलेजले छुट्याएर राख्नुपर्ने बताए । ‘देशभरका सम्पूर्ण मेडिकल कलेजहरुले कोभिड–१९ को विरामीको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकि स्वीकृत बेड संख्याको एकतिहाईले हुन आउने बेड संख्या छुट्याई उपचारको व्यवस्था तत्काल मिलाउन सूचना जारी गरिएको छ’, उनले भने । शनिवारको तथ्यांक अनुसार देशभर हाल ८ हजार ७१६ सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here