गोर्खा इको प्यानलमा आगलागी, उत्पादन सुरु गर्न दुई साता लाग्ने

काठमाडौं, २५ बैशाख । भक्तपुरको चाँंगुनारायण नगरपालिका हनुमानचास्थित गोर्खा इको प्यानलको कारखानामा सोमबार राति आगलागी भएको छ ।

ठूलो आगलागीबाट कारखानामा क्षति उत्पादन समेत बन्द भएको र मेसिनहरुको मर्मत गरी उत्पादन सुचारु गर्न २ साता लाग्ने बताइएको छ ।

आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मत सुधार गरी दुईहप्ता भित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए ।

‘हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं, ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ,’ उनले भने ।

उनले हाललाई स्टक सामानहरु रहेको पनि स्पष्ट पारे । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तर, पनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दावी छ ।

कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे । रातको समयमा मेशिन नचली विद्युत खपत नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ ।

साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी हो । साथसाथै घटनाको प्रकृति हेर्दा कारखानाको कम्पाउण्डभित्र राखिएको काठको प्यालेटबाट आगलागी सुरु भएको देखिएकोले पनि त्यसबारेमा छानबीन भइरहेको बताइएको छ ।

कम्पनीले भित्री तथा बाहिर पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने प्यानल उत्पादन गर्ने गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here