बितेको एक वर्षमा ९८ प्रतिशत अपराधको अनुसन्धान : एसएसपी धिरजप्रताप सिंह

काठमाडौं, बैशाख २६ । बितेको एक वर्षको अवधिमा भएका आपराधिक घटनाहरुमध्ये ९८ प्रतिशतको अनुसन्धान गरेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

महाशाखाका प्रमुखको जिम्मेवारीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय जान लागेका एसएसपी धिरज प्रताप सिंहले आफ्नो कार्यकालको समिक्षा गर्न बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो दाबी गरेका हुन् ।

शुक्रबारबाट अपराध महाशाखा टेकुका नयाँ प्रमुखको रुपमा एसएसपी सहकुल थापा आउने छन् ।

त्यस्तै काठमाडौं प्रहरी परिसरको प्रमुख पनि फेरिएका छन् । परिसर प्रमुखको रुपमा एसएसपी उत्तमराज सुवेदी नियुक्त भएका छन् ।

सुवेदी यसअघि प्रहरीको प्रवक्ताको जिम्मेवारीमा थिए । यसअघिका परिसर प्रमुख बसन्त लामा भने लागु औषध नियन्त्रण ब्युरोमा सरुवा भएका छन् ।

कार्यक्रममा बोल्दै उनले अब काठमाडौंमा गुण्डा र अन्य कुनै नाममा पैसा लिएर जनतालाई ठग्ने प्रवृतिको अन्त्य भएको पनि बताए ।

अपराध रोक्ने प्रयासमा केहि गुण्डाहरुमाथि गोली चलाउनुपरेको पनि उनले बताएका छन् ।

अपराध नियन्त्रणको क्रममा लाईसेन्स भएको हतियारको दुरपयोग गरी जनतालाई धम्क्याएर पैसा असुल्ने काम गरिरहेका व्यक्तिहरुबाट ११ थान हतियार बरामद गरिएको पनि उनले जानकारी दिए ।

विगत १५ दिनयता निर्माण व्यवसायीहरुलाई कुनै प्रकारको दवावमुलक फोन आउन छाडेको पनि उनले दाबी गरे ।

व्यावसायीहरुलाई धम्की आएका फोन नम्बरहरुको बारेमा पनि अनुसन्धान भईरहेको र त्यस्ता फोनहरु प्राय नयाँ नम्बरहरुबाट आएको पनि उनको भनाई छ ।

साथै आफ्नो कार्यकालमा काम गर्दा कुनै प्रकारको राजनैतिक दबाब नआएको र दबाबमा आएर कुनै पनि अपराधीलाई छोड्न नपरेको कुरा उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here