बैंकले सुनचाँदी दिएर ग्राहक लोभ्याउन नपाइने

काठमाडौं २९, वैशाख ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई सुनचाँदीका गहनालगायत जिन्सि सामान दिन नपाउने भएका छन् । ग्राहक तान्ने होडमा बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका उपहार योजना ल्याएका थिए ।

बैंक तथा वित्तीय संस्थाको यस्तो कदमले बजारमा अस्वस्त प्रतिश्पर्धा बढाएको भन्दै नियन्त्रणका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त निर्देशन दिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्का लगायत कुनै पनि किसिमका सिक्का उपहारहरु प्रदान गर्न पाइने छैन,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

केही महिना यता बजारमा तरलता अभाव छ । तर, ऋणको माग बढी रहेको छ । माग अनुसार ऋण दिन नसकेपछि बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी)मा दबाब परेको छ । यसकारण बैंक तथा वित्तीय संस्थाले निक्षेपमा विभिन्न किसिमका सुनचाँदीका गरगहना उपहार सहितका निक्षेप योजना सार्वजनिक गरेका थिए ।

राष्ट्र बैंकले भुकम्प पीडितको परिभाषा पनि परिमार्जन गरेको छ । नयाँ व्यवस्था अनुसार भुकम्प पीडित भन्नाले राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग निजी आवास वा प्रवलिकरणका लागि हालसम्म सम्झौता गर्न नसकेका वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास पुननिर्माण वा प्रवलिकरण गर्न नसकेको भुकम्प पीडित लाभग्राहीको मान्यता पाएका छन् ।

उल्लिखित परिभाषा भुकम्प पीडितको निजी आवास निर्माण कर्जाको हकमा लागु नहुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here