कोरोना रोकथाममा गण्डकी प्रदेशको २५ करोड खर्च

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेशले हालसम्म २५ करोड भन्दा धेरै रकम खर्चिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले दिएको जानकारी अनुसार कोभिड–१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ रुपैयाँमध्ये हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको हो ।

केसीका अनुसार प्रदेशमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ ।

यसका साथै ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका लागि एक करोड ५३ लाख उपलब्ध गराइएको केसीको भनाई छ । कुल ८५ स्थानिय तह भएपनि जहाँ जहाँ क्वारेन्टाइन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराएको उनले बताए ।

उनले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिए ।

गण्डकी प्रदेशका सबैभन्दा धेरै कोरोना संक्रमित रहेको जिल्ला कास्की हो । प्रदेश सरकारको तथ्यांक अनुसार कुल संक्रमित संख्याको ४२.९६ प्रतिशत संक्रमित कास्की जिल्लामा रहेका छन् ।

त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ, गोर्खा, स्याङ्जा, पर्वत, लमजुङ म्याग्दी रहेका छन् भने मनाङ, मुस्ताङ खतरा बाहिर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here