‘वायुसेवा कम्पनीहरु ६ अर्बबढी घाटामा छ, थप लकडाउन थेग्न सक्दैनौँ’

काठमाडौं, २९ कात्तिक । वायु सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरु ६ अर्बबढी घाटामा रहेो जनाकारी गराएको छ ।

काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै शुक्रबार विज्ञप्तिमार्फत उक्त जानाकारी दिएको हो ।

गएको ६ महिनाको लकडाउनपछि थोर बहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप लकडाउन देशले थेग्न नसक्ने अवस्था रहेको संघले जनाएको छ ।

‘लकडाउनले हजारौँ श्रमिकको रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायु सेवा कम्पनी ६ अर्ब रुपैयाँभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्ययभार थप्नु न्यायोचित हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।

केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरि लकडाउन गर्ने समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

६ महिनाको लकडाउनले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन ।

कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाण्डौ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकै बीच भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान सुरु भएको थियो ।

सरकारले मंसिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि फेरि सञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले ‘होलिडे प्याकेज’ तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here