भाटभटेनीको लक्ष्य – तीन वर्षमा २५ सुपरमार्केट, ५० हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं, ५ जेठ । मुलुककै ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २०७९ सालभित्र २५ ओटा आउटलेट स्थापना गर्ने भएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका र पोखरासँगै तराइका शहरी क्षेत्रमा आक्रामक व्यापार विस्तार गर्दै आएको भाटभटेनीले शुक्रबार आफ्नो १६औं शाखा ललितपुरको सातदोबाटोमा स्थापना गरेको छ ।

आगामी मंसिरमा भैरहवा, फागुनमा नेपालगञ्ज र २०७७ मंसिरमा बिराटनगरमा दोस्रो आउटलेट सञ्चालनमा आउने भाटभटेनी ग्रूपका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । अहिले सञ्चालनमा आएका सुपरमार्केटमा करीब ६ हजार ५ सय जनाले रोजगारी पाएका छन्, उनले भने ।

‘आगामी १५ वर्षमा करीब ५० हजार जनालाई रोजगारी दिने हाम्रो लक्ष्य हो । हामी चाहन्छौं, समृद्ध मुलुकको सपना साकार पार्नमा हाम्रो पनि केही योगदान पुगोस्,’ गुरुङले भने ।

तराइका अधिकांश नेपाली किनमेलका लागि सीमापारीका बजारमा जाने प्रवृत्तिलाई केही मात्रमा भए पनि उल्ट्उन भाटभटेनी सफल भएको उनको भनाइ छ ।

‘तराइको अनुभव आश्चर्यजनक छ । बिराटनगरमा आउटलेट खोल्दा हामी अलि डराएका थियौं, जोगबनीले अप्ठ्यारो पार्छ कि भन्ने थियो । तर, हामी बलियो बन्यौं, अहिले करीब ४० प्रतिशत जोगबनी जाने नेपाली ग्राहकलाई हामीले बिराटनगरमै रोकेका छौं । यो मुलुकका लागि पनि राम्रो कुरा हो,’ उनले भने ।

बिराटनगर जत्तिको पूर्वाधार भएका सपिङ सेण्टर भारततर्फ नहुँदा त्यताका ग्राह नेपाल आउने उनको भनाइ छ ।

यसैबीच, भाटभटेनीले शुक्रबारबाट सञ्चालनमा आएको सातदोबाटोस्थित आउटलेटमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरेको छ । नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

काठमाडौंको टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेको छ । उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here