२५ दिनभित्र गौतमबुद्ध विमानस्थलको काम सक्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने , ‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।’

उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले भने , ‘विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ ।’

उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, ‘सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।’

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए ।

उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव कोइरालाले समयमै काम सक्नुपर्ने बताए । उनले भने , ‘तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ ।’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here