चिडियाखाना खुल्यो, अवलोकनमा जानेलाई यस्ता छन् नियम

काठमाडौं, २५ मंसिर । कोरोना संक्रमण त्रासको कारण गएको ७ चैतदेखि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आज बिहीबारदेखि खुल्ला भएको छ ।

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका लागि सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खुल्ला भएको हो ।

मापदण्ड अनुसार चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिइनेछ ।

चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन। अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला हुनेछ ।

भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ। चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here