काठमाडौं, ७ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षले अलग(अलग केन्द्रीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्ने भएको हो। दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् ।
प्रचण्ड- नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ ।
यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाकाे चुनाव गर्ने घाेषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।