जनकपुर-जयनगर रेल सेवाको भाडा तोकियो, एसी बोगीमा चढ्दा कति रुपैयाँ तिर्नुपर्छ

धनुषा । दुई वर्षदेखि पटक–पटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर–जयनगर रेल सेवाको पछिल्लोपटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।

सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेसन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

तर, अहिले भारतबाट दुईओटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुईओटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेसनमा त्रिपाल ओढाएर थन्क्याएर राखिएको छ ।

यसरी पटक–पटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भई रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् ।

जनकपुरधामस्थित रेल्वे स्टेसन रोडमा ल्यापटप मर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भने, ‘‘रेल सेवा सुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेसन रोडमा एक वर्षअघि पसल राखेँ । तर, अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । पटक–पटक तोकिएको मितिमा रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।’

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लोपटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यही माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गरे । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

महाप्रबन्धक भट्टराईका अनुसार आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

भट्टराईले भने, ‘‘प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जीटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।’ उनले रेल इन्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए ।

उनले नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताउनुभयो । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए ।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको समेत मर्मत–सम्भारको काम लगभग पूरा भइसकेको बताए । उनले रेल सञ्चालनका लागि आवश्यकपर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँसम्म तोकिएको छ । उनले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताए ।

महाप्रबन्धक भट्टराईले एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खन्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टे्सनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँचओटा स्टेसन राखिएको छ ।

जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्री ओसारपसार मात्रै हुनेछ । स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत् पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए ।

जनकपुर–जयनगर रेल्वेको साइट इ्न्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताए ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here