‘किताब जात्रा’ माघ १७ देखि २३ सम्म, विभिन्न ७ सेसनमा कार्यक्रम हुने

काठमाडौं । तेस्रो ‘किताब जात्रा २०७७’ माघ १७ देखि २३ सम्म आयोजना हुने भएको छ। काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माघ १७ देखि २३ सम्म नबिल किताब जात्रा २०७७ सञ्चालन गरिने जानकारी दिईएको हो ।

कार्यक्रममा किताब जात्राका संस्थापक ऋषिराम अधिकारी, बैंकर अनिल केशरी शाह, चार्टर्ड अकाउन्टेन्ट भरत रिजाल, पत्रकार टीकाराम यात्री, पत्रकार कला अनुरागी र कवि शकुन्तला जोशीले कार्यक्रमबारे बिस्तारमा जानकारी दिएका थिए ।

प्रमुख अतिथिका रुपमा उपस्थित भएका नबिल बैंकका सिईओ अनिलकेशरी शाहले व्यक्तिको बौद्धिक विकासमा किताब जात्राले भिटामिनको काम गर्ने बताए ।

उनले भने, ‘नेपालमा जात्राहरुको लामो परम्परा छ जसको आधार धर्म हो । यस्ता जात्राहरु अतीतमुखी छन् । तर किताब जात्राको आधार धर्म नभएर ज्ञान हो जुन भविष्यमुखी छ । व्यक्तिको बौद्धिक विकासमा किताब जात्राले भिटामिनको काम गर्छ ।’

कोरोना महामारीका कारण यस पटक हुने एक हप्ता लामो महोत्सव भर्चुअल हुनेछ । यस पटक भर्चुअल महोत्सवका सम्पूर्ण कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने पनि कार्यक्रममा जानकारी दिइयो ।

महोत्सवमा विभिन्न ७ सेसनहरु रहनेछन् । ती सेसनहरु एपी वान टेलिभिजनबाट हरेक दिन बेलुका छ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गने ५ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ । किताब जात्राका सम्पूर्ण सेसन ‘किताब यात्रा एप’बाट पनि हेर्न सकिने कार्यक्रमा बताईयो ।

कार्यक्रममा बोल्दै किताब जात्राका ऋषिराम अधिकारीले भने, ‘पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने हाम्रो लक्ष्य हो । त्यसैले यो महोत्सव पठन संस्कृति बिस्तारको अभियान हो ।’

‘किताब यात्रा’ अनलाइन अर्डर लिई ग्राहकको घरदैलोमै किताब पुर्‍याउने काम गर्छ ।

महोत्सवमा भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायत विविध विषयका अनुभवी तथा विज्ञसँग अन्तक्रियात्मक छलफल हुनेछन् ।

यही अवसरमा नेपाली वाङमयका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई पुरस्कृत गर्ने, किताब जात्राबाट सर्वाधिक बिक्री हुने पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिने तथा डिजिटल पुस्तक प्रदर्शनी लगायत गतिविधि सञ्चालन गरिने अधिकारीले बताए ।