काठमाडौंमा पुनः देखियो बर्डफ्लु

काठमाडौं, ३० माघ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लु रोग देखापरेको छ। तारकेश्वर नगरपालिका- १ का स्थानीय कृषकले पालेका हाँसमा बर्डफ्लु देखिएको हो।

यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो ।

बर्डफ्लु फैलिन नदिन पशुसेवासँग सम्बद्ध निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले जनाएको छ।

त्यसक्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको विभागले जनाएको छ।

बर्डफ्लु रोग फैलिन नदिन विभागले सम्पूर्ण सरोकारवालाहरुलाई अपिलसमेत समेत गरेको छ।

पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, नियमित रुपमा निःसंक्रमण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here