सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते

काठमाडौं, ३० माघ । वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्।

जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो ।

झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन । झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण भएको हो । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

झडपमा परी २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन। उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत भारतीयले लगेका छन् । ओरिया खोलाको नेपाली भूमि भएपनि भारतीय पक्षले दाबी गर्दै आएको छ । सो क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here