कतार विश्वकपको निर्माणाधिन रंगशालाले लियो नेपालीसहित ६ हजार कामदारको ज्यान

काठमाडौं, १२ फागुन । सन् २०२२ मा हुने विश्व फुटबलको महाकुम्भ कतार विश्वकप फुटबलको लागि तयारी तीव्र रुपमा चलिरहेको छ ।

पहिलो पटक अरबी मुलुकमा हुन लागेको विश्वकपको लागि रंगशालाको निमार्णका लागि ठूलो संख्यामा आप्रवासी कामदारले रोजगार पाएका छन् । कतारका तीन शहरमा आठ रंगशाला निर्माणाधिन अवस्थामा रहेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१० मा ‘विश्वकप फुटबल २०२२’ को आयोजना गर्ने जिम्मेवारी कतारलाई दिएको थियो।

त्यसयता कतारले विश्वकप फुटबलका लागि आवश्यक पर्ने आधा दर्जनभन्दा बढी ठूला स्टेडियम, ठूला भवनहरु, दर्जनौं निर्माण परियोजनाहरुमा काम गर्दै आएको छ। विश्वकपको लागि भैरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सय भन्दा बढि कामदारहरुको मृत्यु भएको छ ।

मृत्यु हुने कामदारहरुमा नेपाल सहित भारत पाकिस्तान बंगलादेश तथा श्रीलंकाका नागरिकहरु रहेका बेलायती दैनिक द गार्जियनले जनाएको छ ।

सन् २०१० देखि हालसम्म कतारमा २ हजार सात सय ११ भारतीय, एक हजार छ सय ४१ नेपाली, एक हजार १८ जना बंगलादेशी, आठ सय २४ जना पाकिस्तानी र पाँच सय ५७ जना श्रीलंकाली कामदारको मृत्यु भएको गार्जियनको समाचारमा उल्लेख छ।

कतारमा मृत्यु हुने नेपाली कामदारमध्ये ४८ प्रतिशतको प्राकृतिक मृत्यु, ९ प्रतिशतको मृर्गौलामा खराबी, १० प्रतिशतको कार्यस्थलमा दुर्घटना, १६ प्रतिशतको सडक दुर्घटना, १० प्रतिशतको आत्महत्या र ७ प्रतिशतको अन्य कारण मृत्यु भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here