नेपाल बैंकलाई नयाँ उर्जा दिने अध्यक्ष मरासिनीको प्रतिवद्धता

काठमाडौं । नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति-रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउने बताए ।

साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे ।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायत नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका मरासिनीलाई बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो । लाभांश विवादमा बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएपछि अर्थ मन्त्रालयले उनको स्थानमा मरासिनीलाई पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here