कोरोना खोपका लागि विश्‍व बैंकले नेपाललाई ८ अर्ब ७० करोड ऋण दिने

काठमाडौं, ६ चैत । कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपको लागि ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।

यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

‘कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो,’ विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैँया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

यस सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ ।

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरु, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।

‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,’ विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने।

‘कोभिड-१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड-१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।’

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो।

विश्व बैंकको बोर्डले आईडा मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्ड (ARTF) को ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रम (ESMAP) को ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ ।

यस वित्तिय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निश्पक्ष र समतामुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here