विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं, ९ चैत । नेपाली बैंकहरुले नै विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरू र राष्ट्रिय स्तरका विकास बैंकहरूलाई परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको हो ।

राष्ट्र बैंकले वार्षिक रुपमा अधिकतम ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने गरि यस्तो नियम बनाएको हो ।

परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने भएको छ ।

कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनु पर्नेछ ।

उक्त कार्डको प्रयोगबाट नेपाली उपभोक्ताले अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न सहज भएको छ ।

प्रयोगकर्ताले एक वर्षमा एकैपटक वा पटक–पटक गरी ५०० डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा उक्त सटही सुविधा पाउनेछन् ।

नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएको वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले विदेशबाट अनलाइन खरिद गर्न सक्नेछन् । कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा नै जम्मा हुनुपर्ने हुन्छ ।

अहिलेसम्म नेपाली उपभोक्ताले अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्नुपरेमा डलर कार्ड बनाएका व्यक्तिहरुलाई खोज्नुपर्ने बाध्यता थियो।

धेरैजसो फेसबुक लगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न, कुनै समाचार प्रमोसन गर्न, अनलाइन डोमिनहरु खरिदगर्न तथा अनलाइनबाट कुनै सामान खरिद गर्न चाहेपनि डलर कार्ड लिएका व्यक्तिलाई खोज्दै हिँड्नुपर्ने अबस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here